देशमा युवा बेरोजगारीको अवस्था कहाली लाग्दो छ । हामीले अवलम्वन गरिरहेको अर्थतन्त्र परिचालनको बिधिले लाखौ युवाको विदेश पलायनलाई रोक्न सकिरहेको छैन । यही अवस्था कायम रहिरहे हामी अदक्ष मजदुर उत्पादन गर्ने मुलुकको रुपमा मात्र परिचित हुने संभावना छ । अतः यो परिस्थितिबाट मुक्त नभई हामीले २१ औँ शताब्दीका चुनौती सामना गर्न संभव छैन । मैले अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन गरेको नीतिगत निर्णयमा नै युवा उद्यमीहरुका लागि बिशेष योजना बनाउने कुरा उल्लेख गरिएको छ । त्यो निर्णय कार्यान्वयन गराउने कुरामा म दृढ छु ।
यही कुरालाई मध्यनजर गरी वि.स. २०६५ सालमा गणतन्त्र पछिको पहिलो सरकारको पालामा युवा वेरोजगारीको अन्त्य गर्ने र देशभित्रै रोजगारीका लाखौ भ्रुणहरुको विकास गर्ने उद्देश्यका साथ युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो । मुलुकमा व्याप्त अस्थिरताको कारण यो कोषका उद्देश्यहरु पूरा नभएको जस्तो देखिए पनि यो नै हाम्रो मुलुकको गरिबी निवारण र रोजगारीका अवसरहरुको श्रृजना गर्ने राम्रो विधि हो । कोष मार्फत अशिक्षित र वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन अभिमुखीकरण, व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गर्नुका साथै बैंक एवं वित्तीय संस्थाहरु मार्फत बिना धितो सहुलियत ब्याजदरमा आवधिक कर्जा प्रदान गरी वेरोजगार युवाहरुको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्नेछ ।
आर्थिक रुपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एवंम् परम्परागत सीप भएका युवाहरुलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिनेछ । हाम्रो मुलुक अब संक्रमणकालको अन्त्य तर्फ लम्किरहेको छ । स्थानीय, संघीय हुँदै केन्द्रीय चुनाब गरेर संबिधानको कार्यान्वयपछि हामी आर्थिक समृद्धिको दिशामा अघि बढ्नै पर्छ । त्यसको आधार र जग तयार पार्ने काममा यो कोषले महत्वपुर्ण योगदान दिनसक्छ । तर सबैको सहयोग र समर्थन यसमा आवश्यक छ ।
अन्त्यमा, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका माध्यमबाट नेपालमै रोजगारीको अवसर सृर्जना गरी युवा जनशक्तिलाई नेपालमै बस्ने वातावरण तयार पार्न म र मन्त्रालय परिवार सकारात्मक छौं । यसमा सबै सरोकारवाला निकाय एवं नीति निर्माणमा संलग्न व्यक्तिहरुको सहयोगी भूमिकाको लागि म यस कोषको अध्यक्षको हैसियतले पनि सबैमा आग्रह गर्दछु ।
............................
(कृष्णबहादुर महरा)
उप-प्रधान तथा अर्थमन्त्री
अध्यक्ष - युवा तथा साना व्यवसायी स्वरोजगार कोष
०७ भदौ २०७३
No comments:
Post a Comment